अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रबन्ध निर्देशक पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो।
पहाडीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो ,जरिवाना र सजाय मागदावीसहित मुद्दा दायर गरिएको छ। उनीहरूमाथि नेपाल टेलिकमको विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप छ।
अख्तियारका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेल, प्रबन्ध निर्देशक पहाडी,तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धकहरु राजीव कुमार केसी,सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराईलाई प्रतिवादी बनाइ आरोप पत्र दायर भएको छ।
यसैगरी AsiaInfo Linkage Technologies (China) Inc. (Currently AsiaInfo Yunghang Software ( Beijing) Limited) तथा उक्त कम्पनीका Senior Director Long Yong, CRBT&CS Project Office, Kathmandu Al Operation/Project Manager Mr. Huang Wei (Yellow ) र Local Agent Arniko International Pvt. Ltd. को Director शैलेस श्रेष्ठको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र नेपाल टेलिकम लिमिटेड/सार्वजनिक संस्थालाई नोक्सानी पुर्याउने वदनियतले गैरकानूनी तवरबाट मूल सम्झौताको प्रावधान बमोजिम AMC सेवामा वर्षिक ५प्रतिशत छुट नलिइ सो प्रावधानको प्रतिकूल हुने गरी काम गरेको अख्तियारको ठहर छ।
टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा प्रबन्ध निर्देशक पहाडीसहित प्रतिवादीहरूले भ्रष्टाचार गरेको खुल्न आएको अख्तियारको ठहर छ। प्रतिवादी जनहीलाई ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो र सजायको माग गरिएको छ।





















