बिहीबार दिउँसो ३० वर्षीय भूमि चौहान फ्लाइट छुट्दै गर्दा आफ्नो टाउकोमा हात राख्दै निराश थिइन्। उनको दिमागमा एकै पटक फ्लाइट छुट्दा टिकट किन्दा गुमेको मूल्य र युकेको जागिर सबै गुमाउने पीडाले रनथन्याएको थियो। तर त्यो निराशा एकै छिनमा ‘धन्न भगवान’ का रुपमा टुंगियो। उनलाई केही समय अघि रोक्ने एयर इन्डियाका कर्मचारीहरूले एकै छिनमा उनका लागि धन्यवादका पात्र बने।
उनी जुन फ्लाइटबाट लन्डन जाँदै थिइन् त्यही विमान उडान भरेको केही सेकेन्डमै दुर्घटनाग्रस्त बन्यो। यो विमान दुर्घटनामा विमानमा सवार २ सय ४२ मध्ये २ सय ४१ यात्रुको ज्यान गयो। केवल एक यात्रु मात्र भाग्यमानी बने। साथै विमान ठोकिएको भवनमा रहेका ८ जनाको समेत मृत्यु भयो।
भूमि चौहान भने प्लेन चढ्नबाट जोगिएकी यात्रु हुन्। भूमि गुजरात स्थित आफ्नो घर रहेको अंकलेश्वरबाट सडक मार्ग हुँदै अहमदाबाद जाँदै थिइन् फ्लाइट समाउनका लागि। तर उनले अनुमान गरेको समय ट्राफिकका कारण ढिला भयो।
चौहानका अनुसार दिउँसो १२:२० बजे विमानस्थल पुगेकी थिइन्। तर ठीक १० मिनेटअघि बोर्डिङ सुरु हुने तालिका थियो। यद्यपि उनले अनलाइन चेकइन गरिसकेकी थिइन् त्यसैले पनि उनलाई विमानमा चढ्न पाउनेमा विश्वास थियो। उनको डिजिटल बोर्डिङ पास अनुसार उनलाई इकोनोमी क्लासको सिट ३६ जी तोकिएको थियो।
उनी अंकलेश्वरबाट २०१ किलोमिटर लामो यात्रा तय गरेर आइरहेकी थिइन्, तर अहमदाबाद शहरको केन्द्रमा ट्राफिक जाममा फस्न पुगिन्।
उनले बीबीसी सँग भनिन् ‘हामी अहमदाबाद सही समयमा पुग्ने थियौं। तर शहरमा ट्राफिक जामका कारण एयरपोर्ट निर्धारित समय भन्दा १० मिनेट पछि पुगेको थिएँ। मलाई एयरपोर्ट भित्र छिर्न दिइएन, ‘उनले भनिन्, ‘पहिला त मलाई निकै दु:ख लाग्यो। मेरो मनमा अलिकति छिटो हिँडेको भए समयमै आइपुग्थें भन्ने कुराले पिरोल्यो। पैसाको बर्बादी भयो शायद मेरो जागिर पनि समयमै नपुगेका कारण जाने छ भन्ने लाग्यो। तर अहिले म यो सबै अवरोधलाई धन्यवाद भनिरहेको छु। मेरो ज्यान बचेकोमा।’
भूमि पहिले पढ्नका लागि बृटेन गएकी थिइन्। दुइ वर्षअघि उनले केवल चौहानसँग विहे गरिन्। जो ब्रिस्टल शहरमा एक बैंकमा काम गर्ने कर्मचारी थिए। उनले भनिन्, ‘म बृटेन पढ्नका लागि गएको थिएँ । त्यहाँ मैले पार्टटाइम जागिर पनि गरिरहेको थिएँ। विवाहको दुई वर्षपछि म घर फर्किएको थिएँ। म यहाँ डेढ महिनादेखि थिएँ। मेरो छुट्टी सकिएपछि म फिर्ता जानका लागि अहमदाबाद पुगेकी थिएँ।’
विमानस्थलबाट घर फर्किनु अघि उनी आफन्तसँग एक चिया पसलमा चिया पिउन थालिन्। त्यही बेला उनलाई उक्त विमान दुर्घटना परेको खबर आयो। भूमिले भनिन्, ‘हामी चियाको लागि रोकिएका थियौं। हामी ट्राभल एजेन्टसँग रिफन्ड कसरी लिन सकिन्छ भनेर छलफल गरिरहेका थियौं। त्यही समयमा हामीलाई अंकलले फोन गर्नु भयो। उहाँले प्लेन क्र्यास भएको जानकारी दिनु भयो। उहाँको आवाज कामेको थियो।’
उनले थपिन्, ‘यो खबर सुन्दा म पनि केही सोच्नै सकिन्। लगतै हामी मन्दिर गयौं र ईश्वरलाई धन्यवाद दियौं। अहमदाबाद ट्राफिकलाई पनि मैले धन्यावद दिएँ। उसकै कारण मेरो ज्यान बचेकोमा।’





















