
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त कक्षा १२ पास गर्ने बित्तिकै बाहिरी देशमा विद्यार्थी पठाउनु नहुने बताएका छन्।
सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पन्तले १२ पास गरेकाहरू बाहिर पढ्न जाने व्यवस्थालाई सरकारले सोचबिचार गर्नुपर्ने बताए।
१२ पास गर्दा विद्यार्थीको उमेर सानै हुने भएकाले सबै राजनीतिक दलहरू एकमत भएर बोल्ड निर्णय गर्न जरुरी रहेको शिक्षामन्त्रि पन्तको भनाइ छ। डिप्लोमा नगरी विदेश अध्ययन गर्न जानेकुराले देशको भविष्य अन्धकार हुँदै गएको उनले बताए।
‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनैपनि हालतमा देश बाहिर पठाउनु हुँदैन भन्ने मेरो मान्यता बलियो हुँदै गइरहेको छ’, उनले भने ‘सकिन्छ सकिँदैन तर राष्ट्रले एकमत भएर यो प्लस टु पास गर्नासाथ विदेश जानेकुरा रोक्नुपर्छ।’
उनले कन्सल्टेन्सीहरूले १०–१५ लाख लिएर पठाएका युनिभर्सिटीहरू पनि राम्रा नभएको भन्ने कुरा सुनेको बताए। ‘भन्न मिल्छ कि मिल्दैन, कतिपय कन्सलटेन्सीहरूले १०,१२,१५ लाख लिएर कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर पठाइदिएका छन्। ती युनिभर्सिटीहरू राम्रा होइनन् भन्नेछ’ पन्तले भने।
विद्यार्थी पलायन हुनबाट रोक्नका लागि के गर्ने भन्नेमा आफू चिन्तित रहेको र राति निन्द्रासमेत नलाग्ने गरेको उनले बताए।