
महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । कार्यालयका महत्त्वपूर्ण कागजात चोरेको आरोप लगाउँदै मेयर डा.दिपेन्द्र महतोले उनलाई कार्यालय छिर्न बन्देज गरेका हुन् ।
उपमेयर महतोले हिजो कार्यालयका महत्त्वपूर्ण कागजात घर लगेकी थिइन् । सोहीबारे छलफल गर्न आज बिहान मेयरको नेतृत्वमा बसेको कार्यपालिका बैठकले उनलाई कार्यालय प्रवेश गर्न नदिने निर्णय गरेको हो । कार्यपालिका बैठकमा समेत उनलाई निषेध गरिएको थियो । उपमेयर महतोले भने आफूले कागजात नचोरेको दाबी गरेकी छन् ।
कागजात घर लगेको स्वीकार्दै उनले भनिन्, ‘एक महिनादेखि मैले अनुगमन गर्नका लागि कर्मचारीहरुसँग सहयोग मागिरहेको थिएँ । तर, कहिले अधिकृत नहुने त कहिले के नभएको भन्दै टार्ने । अति नै भएपछि हिजो फेरि कर्मचारीको कोठामा पुगे । कोही थिएनन् । फिल्डका कागजात खोजे । साँझ भइसकेको थियो । त्यसैले, ती कागजात हेर्न घर लगेकी हुँ ।’
कागजातमा केही पनि नभएको जनाउँदै उपमेयर महतोले थपिन्, ‘बिहान बोलाइएको कार्यपालिका बैठकमा यो देखाएर कर्मचारीहरुको गुनासो गर्छु भनेर कागजातसहित गएको थिएँ । तर, मलाई छिर्न दिइएन । बैठक सकिएपछि अब उपमेयरबिनै नगरपालिका चलाउने निर्णय भएको सुने । म कार्यालयको गेटबाहिरै छु । नगर प्रहरीहरुले मेयरको आदेश भन्दै मलाई भित्र छिर्न दिएका छैनन् । मेरो कार्यकक्षसमेत तोडफोड गरिएको सुनेको छु ।’