
तौलिहवा बसपार्कमा १ सय १३ जना सवारी चालक सहचालकहरुको निशुल्क आँखा परीक्षण गरिएको छ । दृष्टिदोषका कारण हुन सक्ने दुर्घटना न्युनिकरणका लागि कपिलवस्तु जिल्लामा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्नका लागि तौलिहवा आँखा अस्पतालको सहयोगमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाको आयोजनामा बसपार्कमा निशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको हो ।
शिविरमा चालक र सहचालक बाहेक यात्रुहरुले समेत आँखा परीक्षण गराएका थिए । तौलिहवा आँखा अस्पतालका दृष्टि विशेषज्ञ प्रमोद यादवको नेतृत्वमा नेत्र सहायक सहित चार जनाको टोलीले १ सय १३ जनाको आँखा परीक्षणका क्रममा ६५ जनामा दृष्टिदोष र ४ जनामा मोतियाबिन्दुको संक्रमण फेला पारेको थियो । अधिकांशको आँखामा दृष्टिदोषको समस्या देखिएको बिशेषज्ञ यादवले जानकारी दिए ।
समस्या भेटिएका बिरामीलाई थप उपचारका लागि तौलिहवा आँखा अस्पतालमा आँखा उपचारका लागि प्रेषण गरिएको छ । आफुहरुलाई कार्यस्थलमै निशुल्क आँखा परिक्षण सेवा दिईएकोमा खुसी लागेको सवारी चालक धनश्याम कहाँरले बताए । आँखाको समस्याले हुने दुर्घटना रोक्न कार्यक्रमले भुमिका खेल्ने उनले बताए ।
दृष्टिदोष र मोतियाबिन्दुका कारण चालकले राम्ररी देख्न नसक्दा धेरै दुर्घटनाहरु निम्तिने गरेकाले सो समस्यालाई समाधान गर्न चालक र सहचालकका लागि निशुल्क आँखा परिक्षण कार्यक्रम आयोजनामा सहयोग गरिएको तौलिहवा आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवले बताए ।
पछिल्लो जेठ महिनामा मात्रै जिल्लाभर ६८ वटा सडक दुर्घटनामा परि ७ जना व्यक्तिको मृत्यु भएको र १ सय १ जना व्यक्ति घाईते भएकाले बढ्दो दुर्घटना न्युनिकरणमा सहयोग पुर्याउने उद्धेश्यले सवारी चालक र सहचालकहरुको लागि आँखा परिक्षण शिविर आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरिक्षक दिपकराज गिरीले जानकारी दिए ।
पछिल्लो समय बढ्दो दुर्घटना न्युनिकरणका लागि कपिलवस्तु प्रहरीले सडक सुरक्षाका लागी चेकिगं र दुर्घटना न्युनिकरणका लागि बिभिन्न सचेतना कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । कपिलवस्तु प्रहरीले दुर्घटना न्युनिकरणका लागी ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको तस्बिर र भिडियो सामाग्री प्रहरीलाई संप्रेषण गरे ति सवारीलाई कारवाही गरिने बिषयमा नागरिकस्तरमा सुचना समेत प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।