
अमेरिकाले इरानका तीनवटा प्रमुख परमाणु केन्द्रहरूमा आक्रमण गरेको पुष्टि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोर्दो, नताञ्ज र इस्फहानमा लक्षित हवाई कारबाही गरिएको जानकारी दिएका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार सबै अमेरिकी लडाकु विमानहरू इरानको हवाई क्षेत्रबाट सुरक्षित रूपमा बाहिरिसकेका छन् र आफ्नो आधारमा फर्किइसकेका छन्। उनले इरानमा सम्पन्न सैन्य कारबाहीबारे राष्ट्रलाई सम्बोधन गर्ने घोषणा समेत गरेका छन्।
इरानी अधिकारीहरूले पनि आक्रमणको पुष्टि गरेका छन्। इस्फहान प्रान्तका सुरक्षा उपगभर्नर अकबर सालेहीका अनुसार नताञ्ज र इस्फहान क्षेत्रमा एकपछि अर्को गर्दै ठूलो संख्यामा विस्फोटको आवाज सुनिएको छ। उनले भने, “हामीले इस्फहान र नताञ्जका परमाणु केन्द्रहरू नजिकै आक्रमणहरू देख्यौं।”
यस घटनापछि इरान र अमेरिका बीचको तनाव थप चुलिन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूले चेतावनी दिएका छन्।