
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाबाट इरानका आणविक केन्द्रहरूमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरेका छन्। उनले अमेरिका र सम्बन्धित पक्षलाई संयमता अपनाउँदै शान्तिपूर्ण समाधानको मार्ग रोज्न अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै महासचिव गुटेरेसले पहिले नै अस्थिर रहेको मध्यपूर्व क्षेत्रमा यस घटनाले थप अशान्ति निम्त्याउन सक्ने चेतावनी दिएका छन्। “मध्यपूर्व अहिले संकटमा छ। यस्तो परिस्थितिमा थप सैन्य तनावले सम्पूर्ण क्षेत्र र विश्वमै गम्भीर प्रभाव पार्न सक्छ,” उनको भनाइ छ।
गुटेरेसले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय दायित्वको सम्मान गर्न आह्वान गर्दै वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।