इरान–इजरायल द्वन्द्वका बीच भारतको अप्रेशन सिन्धु अन्तर्गत बिहीबार इरानबाट २७२ भारतीय र तीन नेपाली नागरिक दिल्ली आइपुगेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा जानकारी दिँदै अहिलेसम्म ३,४२६ जना भारतीय नागरिकलाई इरानबाट सुरक्षितरूपमा उद्धार गरिएको बताएका छन्।
इरान–इजरायल तनाव गहिरिँदै जाँदा भारत सरकारले अप्रेशन सिन्धु सञ्चालन गरी आफ्ना नागरिकको उद्धारसँगै नेपाली र श्रीलंकाली नागरिकलाई पनि सहयोग गर्दै आएको छ।
नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि भारतसँग समन्वय गरिरहेको छ। यसअघि नै परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानमा रहेका नेपालीलाई भारत सरकारको सहयोगमा उद्धार गर्ने नीति लिइसकेको जानकारी दिएकी थिइन्।



















