
राजेन्द्र खनाल, कपिलवस्तु | शुक्रबाट साँझ प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन भएसँगै अहिले जिल्लागत तथा विद्यालयगत विद्यार्थी अंकनको विश्लेषण तथा चर्चा भइरहेको छ । यसपटकको एसईई नतिजालाई हेर्दा कपिलवस्तु जिल्लामा १६ जना विद्यार्थीहरुको ४ जिपिए नतिजा प्राप्त भएको छ । ४ जिपिए ल्याउने सबै विद्यार्थी बाणगंगा नगरपालिकाका रहेका पाइएको छ ।
सामुदायिक तथा संस्थागत तीनवटा विद्यालयहरूबाट गरी १६ जना विद्यार्थी ४ जिपिए अङ्क सहित एसइई उत्तीर्ण भएका छन् । बाणगंगा नगरपालिका स्थित जनता मावि पिपराका सबैभन्दा धेरै ९ जना, ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुरका ४ जना र बाणगंगा मावि लौगाईका ३ जना विधार्थीहरुले ४ जिपिए ल्याएका हुन् ।
जनता मावि पिपराका अनुसार प्रविणा बस्याल, बिविका भुसाल, पृशिला थारु, प्रकृति बस्याल, अनुष्का खत्री, बिश्वास पौडेल, बिवेक खनाल, दिक्षा पौडेल र प्रज्ज्वल अधिकारीले ४ जिपिए अङ्क सहित एसइई उत्तीर्ण गरेका हुन् । यो नतिजासँगै जनता मावि पिपराको अहिले चौतर्फि चर्चा चुलिएको छ । जनता मावि बाट २५४ विद्यार्थी परीक्षामा सम्मलित भएका थिए । जहाँ शतप्रतिशत नजिता विद्यालयले प्राप्त गरेको छ ।
यस्तै ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुरले दिएको जानकारी अनुसार दिव्या गैरे, ग्रीष्मा गाहा, सम्झना न्यौपाने र सारा ज्ञवालीले ४ जिपिए ल्याएका छन । त्यसका साथै २१ जना विद्यार्थीले ३.६० देखि ३.९६ जिपिए र ३ जना विद्यार्थीले ३।२१ देखि ३.५९ जिपिए ल्याएका छन्। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र पाण्डेका अनुसार ज्ञानपुञ्जबाट परीक्षामा सहभागि विद्यार्थीहरुको नतिजालाई विश्लेषण गर्दा देशभरबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुमा सबैभन्दा बढी १४ प्रतिशत नतिजा ज्ञानपुञ्जलाई प्राप्त भएको छ । यहाँबाट जम्मा २८ जना विद्यार्थी एसईई परीक्षामा सम्मलित भएका थिए । यो संख्यालाई हेर्दा देशभरबाट ४ जिपिए ल्याउने विद्यार्थी ज्ञानपुञ्ज अगाडी देखिएको उनले बताए । विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले उक्त उपलब्धिलाई ‘शिक्षा, अनुशासन र सामूहिक प्रतिबद्धताको उत्कृष्ट फल’ भनी उल्लेख गर्दै सम्पूर्ण अभिभावक, शिक्षक–कर्मचारी, व्यवस्थापन समिति, सञ्चालक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
यस्तै वडा नम्बर ८ स्थित बाणगंगा मावि लौगाईबाट तीन जना विद्यार्थीहरुले ४ जिपिए नतिजा प्राप्त गरेका छन् । विद्यार्थीहरु अन्जिता शर्मा, सुशान्त कडेल र अनिश पौडेलले ४ जिपिए ल्याएका हुन् । विद्यालयका प्रधानाध्यापक कुलराज पौडेलका अनुसार समग्रमा विद्यालयले ९० प्रतिशत सफल नतिजा प्राप्त गरेको छ । उनले केही विद्यार्थीको आंशिक अंकका कारण एनजी देखिएको भए पनि समग्रमा नतिजाले विद्यालय परिवार सन्तुष्ट रहेको बताए । उनले आगामी दिनमा अझ सक्रियताका साथ लाग्न यो नतिजाले प्रेरित गरेको बताएका छन् ।
यो नतिजालाई हेर्दा २०८१ सालको एसइई परीक्षामा बाणगंगाबाट १ हजार ७ सय २२ जना विद्यार्थी सहभागी भएकोमा ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै ३ दशमलव ६ देखी भन्दा माथि ल्याउने विद्यार्थीको सङ्ख्या ४५७ रहेको छ ।