— पुर्णचन्द्र परियार, जीतपुर
कपिलवस्तु, बाणगंगा — २१२औं भानु जयन्तीको अवसरमा कपिलवस्तुको बाणगंगा नगरअन्तर्गत रहेको बाणगंगा प्रज्ञा प्रतिष्ठानले विशेष साहित्यिक रचना वाचन कार्यक्रम आयोजना गरेको छ। प्रतिष्ठानका अध्यक्ष बालाराम ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकारहरूले भानु भक्त आचार्यको जीवन, व्यक्तित्व र योगदानलाई केन्द्रमा राखेर कविता, गजल, जीवनी, गीत लगायतका रचनात्मक प्रस्तुति दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको साहित्यिक कृति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले भानुको जीवनवृत्तले आजका पुस्तालाई राष्ट्रिय भावना र भाषा–संस्कृतिप्रतिको माया बढाउने प्रेरणा दिन सक्ने बताउनुभएको थियो
विशिष्ठ अतिथि प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले साहित्य समुदायमा चेतना फैलाउने माध्यम भएको उल्लेख गर्दै सामाजिक रुपान्तरणमा साहित्यले खेल्ने भूमिकालाई स्मरण गराउनुभएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी, बाणगंगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद घिमिरे लगायतका वक्ताहरूले भानु जयन्तीको महत्त्व र नेपाली साहित्यको विकासमा यसको प्रभावमाथि मन्तव्य राखेका थिए।
साहित्यकार सुर्य प्रसाद भुषालले कार्यक्रमका सहभागीहरूप्रति स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन पुर्णचन्द्र परियारले गर्नुभएको थियो।




















