मोहन बेल्वासे
आजभोलि कृषि, पर्यटन, संस्कृति संरक्षण, व्यापार आदि नाममा विभिन्न स्थानहरूमा मेला महोत्सवहरू आयोजना भइरहेका छन् । अहिले कपिलवस्तुमा तीन वटा महोत्सव लगातार चल्दै छन् । यसैविच धार्मिक अनुष्ठान समेत जुधिरहेका छन् । यस्ता मेला महोत्सवहरूले समाजमा केही न केही आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव पार्ने गरेका छन् । मेला महोत्सवहरु एकातिर स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै कृषक, उद्यमी तथा व्यापारीहरूलाई बजार उपलब्ध गराउने माध्यम बन्दै गएका छन् भने अर्कोतिर, पर्यटन प्रवद्र्धनको माध्यम बन्दै स्थानीय कला, संस्कृति, रहनसहनको प्रचारप्रसारमा महत्वपूर्ण मञ्चका रुपमा स्थापित हुँदैछन् । सबल अर्थतन्त्रको आधार उद्योग र वाणिज्य नै हो । उद्योग र वाणिज्य क्षेत्रमा भएका परिवर्तन र उत्पादनको जानकारी खरिदकर्ता र उपभोक्तासम्म पुर्याउने राम्रो अवसरका रुपमा मेला र महोत्सवलाई लिने गरिन्छ । उत्पादकहरूले नयाँ उत्पादनहरु, प्रविधिहरु मेला महोत्सवको बेलामा सार्वजनिक गर्ने भएकोले अन्यत्र यसलाई धेरै महत्वका साथ हेर्ने गरिन्छ ।
मेला महोत्सवको उपादेयता स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनु, मौलिक पहिचानलाई प्रवद्र्धन गर्नु तथा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुसँग जोडेर हेर्ने गरिएको देखिन्छ । स्थानीय उत्पादन र सीपको प्रवद्र्धन गरी आर्थिक उपार्जनको क्षेत्र तथा बजारबारे जानकारी हासिल गर्ने थलोका रुपमा पनि मेला महोत्सवलाई लिने गरिएको देखिन्छ । जस्तो कृषि महोत्सवले कृषिजन्य उत्पादनको व्यापारिकरणलाई प्रोत्साहन गर्न सक्छ भने पर्यटन महोत्सवहरूले पर्यटकीय गन्तव्यहरूको प्रचारमा सहयोग पुर्याउन सक्छ । साथै, महोत्सवहरूले हराउँदै गएका परम्परागत सीप, लोकसंगीत र स्थानीय कलालाई जगेर्ना गर्न यस्ता अवसरहरुले सहयोग पुर्याउँछन् नै । मेला महोत्सवको लामो श्रृंखला चलिसक्दा यो दृष्टिकोणबाट हामीकहाँ भइरहेका मेला महोत्सवहरुलाई उपलब्धिमूलक बनाउन सकिएको छ कि छैन भन्ने बारेमा भने त्यति समीक्षा भएको देखिन्न ।
केही समय अगाडि मेला महोत्सव भनेपछि मानिसहरुमा उत्साह, उमंग छाउँथ्यो । मेला हेर्न मानिसहरु घरको काम थाँँती राखेर विभिन्न ठाउँ र जिल्लाबाट सहभागी हुन्थे । किनकि त्यतिबेला सीमित जिल्लामा मात्र हुन्थ्यो । मेलामा स्थानीय स्तरमा उपलब्ध खाद्यान्न सुलभ, सुपथ मूल्यमा पाइन्थ्यो । मेलाको लागि विशेष स्थल पहिचान गरिन्थ्यो । तर पछिल्लो समय मेला महोत्सवहरु देशैभर जिल्लापिच्छेमात्र होइन, शहर र शहरोन्मुख एकै पालिकामै दुईवटासम्म केन्द्रहरु बन्न थालेका छन् । उद्योग वाणिज्य संघ समितिको पहलमा मात्र नभएर सामाजिक संघसंस्था, सरकारी निकाय र स्थानीय निकायले समेत विभिन्न नाममा मेला महोत्सव गर्दै आएका छन् । सर्वसाधारण मानिस मेलामा घुम्न जानुको उद्देश्य सस्तोमा सामानहरु खरिद गर्ने, पिङ खेल्ने र सांगीतिक प्रतियोगितामा रमाउने मात्र हुने गरेको देखिन्छ । औद्योगिक प्रदर्शनी, व्यापार मेला तथा प्रदर्शनी र पर्यटन महोत्सव जे नाम दिए पनि सबै मेला महोत्सवको प्रकृति एकैनासको हुने गरेको छ । प्रदर्शनीबाट सिक्ने सिकाउने भन्दा रम्ने रमाउने काम बढी हुने गरेको देखिन्छ ।
महोत्सवले उत्पादक र उपभोक्तालाई एउटै थलोमा प्रत्यक्षरुपमा भेट गराउने अवसर जुराउने गर्छ । लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, वस्तुको उत्पादन र उपभोगबाहेक जातीय, भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न, स्थानीय उत्पादित कृषि वस्तुको व्यवसायीकरण गर्न र पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु यस्ता महोत्सवको मूल उद्देश्य बन्नुपर्ने हो । मेला महोत्सवहरु स्थानीयस्तरमा उत्पादन हुने वस्तुको बजारीकरण, बेरोजगारहरुलाई स्वरोजगार बन्ने प्रेरणा केन्द्र, साना, लघु तथा घरेलु व्यवसायको प्रवद्र्धन, नयाँ उद्यमी बनाउन सक्ने प्रयोगात्मक सिकाइ थलो, पर्यटन प्रवद्र्धनको एउटा महत्वपूर्ण पाटो बन्नुपर्ने हो । तर पछिल्लो समय महोत्सवहरु साँस्कृतिक क्षेत्रको विशुद्ध व्यापारिक केन्द्र र बाहिरी व्यापारीहरुको जिल्लाबाहिर थन्किएका सामानहरुको प्रदर्शनी गर्ने हाटबजार जस्तै बन्दै गएको देखिन्छ । कृषि, पर्यटन जे भने पनि त्यस्ता एकाध स्टल बाहेक मनोरञ्जनात्मक कार्यक्रम र उद्योग, व्यापारका स्टलमात्रै मेलामा राखिँदा अवलोकनकर्ताहरुका लागि ज्ञानको थलो नभई भेटघाट हुने माध्यमका रुपमा देखिएका छन् । यसरी हेर्दा मेला, महोत्सवहरु पर्यटन उद्यमलाई सघाउने माध्यम भने बन्दै गएको देखिन्छ ।
यस्ता मेला महोत्सवहरू रमाइलो मेलाजस्तो नभई वास्तवमै उपलब्धिमूलक बनाउन आवश्यक छ । स्थानीय सहभागिता बढाउँदै स्थानीय उत्पादन, कला, संस्कृति तथा सीपलाई महोत्सवको केन्द्रबिन्दुमा राख्ने, मेला महोत्सवहरूलाई स्थानीय उद्यमी तथा व्यवसायीका लागि लगानीको अवसरका रूपमा विकास गर्ने, लगानीकर्ताहरूलाई आकर्षित गरी आर्थिक प्रभाव पार्ने योजनाहरू बनाउनु आवश्यक छ । मेला महोत्सव व्यवसाय प्रवद्र्धनको राम्रो अवसर हो । यसलाई स्टक क्लियरेन्स गर्ने मौकाको रुपमा मात्र नलिई नयाँ व्यावसायिक सोचको विकास गर्ने र त्यसलाई ग्राहक उपभोक्तासम्म पुर्याउने अवसरको रुपमा उद्योगी व्यवसायीले लिनुपर्दछ । मेला महोत्सव आयोजकहरुले यसमा विशेष ध्यान पुर्याउन सक्ने हो भने धेरै उपयोगी बनाउन सकिन्छ । हाम्रो सन्दर्भमा व्यापारसँगसँगै कृषि, पर्यटन र संस्कृतिलाई व्यानरमा मात्र होइन, योजनाको केन्द्रमा राखेर मेला महोत्सवहरुको डिजाइन गर्ने हो भने सही अर्थमा मेला महोत्सवहरुको उद्देश्य हासिल गर्न संभव देखिन्छ । यसो हुन सके मेला महोत्सवहरु आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अवसर बन्न सक्छन् ।


















