मोहन बेल्वासे, कपिलवस्तु
नेपाल उद्योग व्यापार महासंघ का अध्यक्ष खिमानन्द पराजुली ले सरकारले ल्याउन लागेको आगामी बजेट तथा आर्थिक नीति निजी क्षेत्रमैत्री र अर्थतन्त्र सुधारमुखी हुनुपर्ने बताएका छन्। समयानुकूल सुधार हुन नसके नेपाल आर्थिक संकटतर्फ धकेलिन सक्ने उनको चेतावनी छ।
उद्योग व्यापार संघ कपिलवस्तु ले आयोजना गरेको बधाई, शुभकामना तथा फेलोशिप कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष पराजुलीले पछिल्लो राजनीतिक घटनाक्रमले निजी क्षेत्रको मनोबल कमजोर बनाएको बताए।
उनले जेनजी आन्दोलनपछि देशको राजनीतिक तथा आर्थिक वातावरण अस्थिरता र अन्योलबाट गुज्रिएको उल्लेख गर्दै उद्योगी–व्यवसायीहरू समेत अनाहकमा आन्दोलनकारीको निशानामा परेको बताए। “व्यवसायीहरूलाई अपराधीझैं व्यवहार गरिनु दुःखद हो,” उनले भने, “यसले निजी क्षेत्रलाई निरुत्साहित बनाएको छ।”
उनका अनुसार २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि एउटै दलको झन्डै दुईतिहाइ बहुमतसहित सरकार गठन हुँदा निजी क्षेत्र उत्साहित बनेको थियो। आर्थिक अवस्था सुधार हुने, नीतिगत स्थिरता कायम हुने र लगानीको वातावरण बन्ने अपेक्षा व्यवसायीहरूले गरेका थिए। तर सरकारका प्रारम्भिक गतिविधिले त्यो भरोसा दिलाउन नसकेको उनले बताए।
“सरकार गठन भएको दुई महिना नपुग्दै व्यवसायीमाथि धरपकड, नीतिगत अस्पष्टता र प्रशासनिक अनिश्चितता बढेको छ,” पराजुलीले भने, “यसले व्यवसायीहरूमा त्रास सिर्जना गरेको छ र लगानी विस्तार गर्ने समयमै उनीहरू नयाँ निर्णय लिन हिच्किचाइरहेका छन्।”
उनले लगानीकर्ताहरूले आगामी बजेटमार्फत सरकारले लिने आर्थिक दिशाबारे स्पष्ट संकेत खोजिरहेको उल्लेख गरे। पछिल्लो समय सरकारले शैक्षिक परामर्श केन्द्रहरू बन्द गराउने तयारी गरिरहेको भन्दै आवश्यक व्यवस्थापन र विकल्प तयार नगरी गरिएको यस्तो कदमले व्यवसायीहरू पलायनको बाटोमा जान सक्ने चेतावनी दिए।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश की अध्यक्ष तारा कुमारी रोकाया ले कपिलवस्तु उद्योग व्यापार संघले छोटो समयमै व्यवसायीहरूको हकहितमा उल्लेखनीय काम गरेको बताइन्। उनले हालै विभिन्न संघसंस्था तथा प्रदेश र केन्द्रीय तहका पदहरूमा निर्वाचित व्यक्तिहरूलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिन्।
कार्यक्रममा सल्लाहकार अर्जुन पोख्रेल, शिक्षक माधव बेल्वासे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका अवसरमा कपिलवस्तु उद्योग व्यापार संघ का पदाधिकारी तथा सदस्यहरू विभिन्न संघसंस्था र निकायमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। सांगीतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष टोपनारायण बेल्वासे ले गरेका थिए भने सञ्चालन महासचिव माधव भाट क्षेत्री ले गरेका थिए।



- संविधान संशोधनको सन्दर्भमा राष्ट्रिय जनमोर्चाद्वारा वृहत अन्तर्क्रिया सम्पन्न
- बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित
- लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार
- वेलफेयरको साधारणसभा र अधिवेशन, नेतृत्व हस्तान्त्रण गर्दै अध्यक्ष खाँण
- बुद्धशान्ति ईङ्गलिस बोर्डिङ्ग स्कुलको सम्मान कार्यक्रम : पूर्व विद्यार्थीको सफलतामा विद्यालय गौरवान्वित
















