कर सहयोगी श्रमिक संगठन नेपालको संयुक्त जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशन भैरहवामा सम्पन्न भएको छ। भैरहवास्थित होटल अल्ट्रा इन्टरनेसनलमा आयोजित अधिवेशनले गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष तारनाथ दहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष नारायण पौडेल, शङ्कर ढुङ्गाना, महासचिव नवराज बर्तौला, सचिव विष्णु प्रसाद आचार्य, केन्द्रीय सदस्य बाबुराम भट्राई, दीपक गैरे, प्रदेश सचिव श्याम गुप्ता लगायतका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कपिलवस्तुका वासुदेव खनाल, उपाध्यक्षहरूमा रिशब अग्रवाल, मदनमोहन चौबे र अर्जुन भट्राई, सचिवमा प्रेमबहादुर चौधरी, कोषाध्यक्षमा अभिजेस कँहार तथा सदस्यहरूमा मोहम्मद अफरोज, टेकै थारु, जितेन्द्रकुमार गुप्ता, राहुल गुप्ता, प्रकाश न्यौपाने, एजाज अहमद, केसी शर्मा, प्रतीककुमार अग्रवाल र धर्मेन्द्र चतुर्वेदी निर्विरोध चयन हुनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष वासुदेव खनालले कर सहयोगीहरूले देशभरका साना तथा मझौला व्यवसायीहरूलाई गुणस्तरीय, जिम्मेवार र विश्वासयोग्य सेवा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले व्यवसायीहरूले कर तथा लेखासम्बन्धी काममा कर सहयोगीमाथि बढ्दो विश्वास व्यक्त गरिरहेको उल्लेख गर्दै सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले संगठनलाई थप सशक्त, व्यवस्थित र व्यवसायिक बनाउँदै कर सहयोगीहरूको हकहित, पेशागत सुरक्षा, क्षमता अभिवृद्धि तथा सामाजिक सम्मानका लागि सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
नवनिर्वाचित अध्यक्ष गणेश खनालले सदस्यहरूले व्यक्त गरेको विश्वासप्रति आभार व्यक्त गर्दै संगठनलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले कर सहयोगीहरूको पेशागत अधिकार संरक्षण, तालिम तथा क्षमता विकास र संगठन विस्तारलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।
अधिवेशनले कर सहयोगी श्रमिकहरूको एकता, पेशागत मर्यादा र संगठनात्मक विकासलाई थप सुदृढ बनाउने तथा साना तथा मझौला व्यवसायीहरूको भरपर्दो साझेदारका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको जनाइएको छ।



















