२० असार ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बोर्डले साउन अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने भन्दै सरकारसँग अनुमति मागेको हो । धेरै परीक्षार्थी भएकाले अनलाइन सम्भव नहुने भन्दै भौतिक रूपमै परीक्षा सञ्चालनको अनुमति मागिएको बोर्डले जनाएको छ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढाउने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताउनुभयो । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।बोर्डबाट प्रस्ताव आएको बताउँदै शिक्षा मन्त्रालयले अवस्था विश्लेषण गरेर मात्र निर्णय गर्ने बताएको छ । परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय सीसीएमसीबाट हुने मन्त्रालयको भनाइ छ । परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै सेन्टर तथा मोडालिटीबारे निर्णय हुने जनाइएको छ । बोर्डले गत वर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीको परीक्षा ४० अंकको मात्र लिएको थियो ।




















