आषाढ ७ । अनेरास्ववियु विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरुद्धमा एक घण्टा चक्काजाम गरेको छ । देवदहको देवदह आदर्श बहुमुखी क्याम्पस अगाडि नाराजुलुस सहित टायर बालेर विद्यार्थीहरूले चक्काजाम गरेका हुन् ।सो क्रममा बोल्दै विद्यार्थी नेताहरू कृष्ण पौडेल, अर्जुन गैरे लगायतले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी फिर्ताको माग गरेका थिए । भ्रष्टाचारी र कालोबजारीलाई कारवाही गर, मुल्यबृद्धी फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरू आन्दोलित भएका थिए ।
चक्काजामका कारण विद्यार्थी बोकेका तथा लिन जाँदै गरेका स्कुल बस, अफिस जाने कर्मचारी लगायत सयौं सवारी साधनहरू जाममा फसेका थिए ।
मुल्यबृद्धिको विरुद्धमा केन्द्रिय सर्कुलर अनुसार देशैभरीका क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ ।नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरेको छ । रातारात भाउँ बढेर पेट्रोलको १ रुपैयाँ कम २ सय, डिजेल मट्टीतेल १ सय ९२ प्रतिलिटर पुग्दा एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ ।




















