मोहन बेल्वासे
बाणगंगा दुग्ध विकास सहकारी संस्थाको आयोजनामा कपिलवस्तुको बोडगाउँमा किसानहरूका लागि तीन दिने सहकारी शिक्षा तथा पशु रोग सम्बन्धी तालिम सञ्चालन भइरहेको छ।
श्रीनगर एग्रिटेक इण्डस्ट्रिज लिमिटेडको सह–आयोजनामा सञ्चालन भएको तालिममा त्यस क्षेत्रका करिब ५० जना अगुवा कृषकहरूको सहभागिता रहेको छ। तालिममार्फत सहकारी शिक्षा, पशुपालन व्यवस्थापन तथा पशु रोगको पहिचान, रोकथाम र उपचार सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिममा सहकारी विज्ञ पोमनारायण पौडेल, बाणगंगा नगरपालिका पशु शाखाका डा. यमलाल पोख्रेल तथा श्रीनगर एग्रिटेक इण्डस्ट्रिजका सेल्स म्यानेजर मिनराज न्यौपानेले प्रशिक्षण दिइरहेका छन्। श्रीनगरका प्रतिनिधि हरि पाण्डेका अनुसार तालिमले किसानहरूको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बाणगंगा दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष राधेश्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ८ का कार्यवाहक अध्यक्ष विश्वास जी.सी. प्रमुख अतिथि रहेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुग्ध सहकारीले किसानको हितमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्ता तालिमले कृषकहरूले भोग्दै आएका समस्या समाधान गर्न र आधुनिक पशुपालन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रम सहकारीका सचिव सूर्यप्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।




















