लुदस, जीतपुर
सामुदायिक वन दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा ६ मा एक कार्यक्रमका विच वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुको आयोजनामा बाणगंगा ६ मा रहेको खैरेनीचौर सामुदायिक वनमा एक कार्यक्रमका विच वृक्षारोपण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अन्सारीले सामुदायिक वन हरु अव राज्यको अवधारणामा गएको र आम्दानीका श्रोतहरु बलियो बन्दै गएको हुँदा अव आर्थिक पारदर्शिता मा जोड दिनुपर्ने बताए । उनले वन संरक्षणमा विभिन्न चुनौति रहेपनि स्थानीय सहित सबै सरोकारवालाहरू संरक्षणमा लाग्नुपर्ने बताए ।
विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्राराईले सामुदायिक वनको ईतिहास बारे बताउदै राज्यले वन संरक्षणको जिम्मा स्थानीयलाई प्रदान गरेपछि वन संरक्षणमा सफलता मिलेको बताए । विगतमा वन विनाश तिव्र हुने गरेकोमा राज्यले स्थानीयबाट संरक्षण गर्ने नीति सँगै सामुदायिक वनको अवधारणा आएपछि वन संरक्षण भएको र महासंघ उपभोक्ता हित र समावेशितालाई जोड दिदै आएको बताए ।

श्रीङ्गिघाट सामुदायिक वन उपभोक्ता समिति का अध्यक्ष तथा युवा समाजसेवी शुशिलसिंह ठकुरीले स्थानीय सरकारले सरोकारवालाहरु सँगको समन्वयमा वन ऐन बनाएर यसको संरक्षण र सदुपयोग गर्नुपर्ने भन्दै विकासका लागि स्थानीय सरकार र वन हातेमालो गरेर साझेदारीमा राम्रो विकासको अवधारणा ल्याउनुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष जयलाल गिरीले हिजोका दिनमा सामुदायिक वन संरक्षणको अवस्थामा रहेकोमा अब समृद्धितर्फ उन्मुख हुनुपर्ने र आर्थिक अवस्था कमजोर भएका वनलाई अवस्था बलियो भएका वनहरुले सहयोग पुर्याउनुपर्ने बताए । कार्यक्रममा खैरेनीचौर सामुदायिक वन उपभोक्ता समिति कि अध्यक्ष मन्जु महत्रा को स्वागत र लक्ष्मणघाट सामुदायिक वन समितिका अध्यक्ष खड्ग बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















