लुदअ कपिलवस्तु, बैशाख २९
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिम बढपछि कपिलवस्तु जिल्लालाई शिल गर्ने निर्णय गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको छ । उक्त निर्णय आज बैशाख २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ । कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् ।
आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले एक विज्ञप्ति जारी जिल्लामा अति आवश्यकीय वस्तुहरु बाहेक जिल्लामा गुड्ने सवारी साधन, मानिसहरुको आवतजावत र सम्पुर्ण किसिमका गतिविधि, उद्योग धन्दा, कलकारखानाहरु आज साँझ ५ बजे देखि जेठ ५ गते मध्यराती सम्मका लागि उक्त निर्णय लागु हुने जानकारी दिएका छन् ।
साथै विज्ञप्तिमा उल्लघंन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सक्रात्मक रोग ऐन २०२० को दफा २ (१) बमोजिम कारवाही हुने उल्लेख गरिएको छ । साथै खाद्यान्न तथा तरकारी किनमेलका लागि विहान ७ बजे देखि ९ बजे सम्मका लागि समय कायम गरिएको प्रशासनले जनाएको छ ।