त्रिदेशीय सीमामा सरकारी कार्यालय स्थापना गर्नुपर्ने माग

[sharethis-inline-buttons]

लुदअ जेठ ११, दार्चुला
त्रिदेशीय सीमा क्षेत्र रहेको व्यासस्थित छाङ्गरु र तिङ्करमा सरकारी कार्यालय स्थापना गर्नुपर्ने माग उठ्न थालेको छ । सामरिक महत्वको व्यास गाउँपालिका– १ मा सरकारी कार्यालयको स्थापना गर्नुपर्ने माग उठेको हो ।

भारतले कालापानी क्षेत्रमा अतिक्रमण गर्न थालेपछि अहिले यो क्षेत्रमा नेपालको बलियो उपस्थिति हुनुपर्ने आवाज उठ्न थालेको हो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा आफ्नै भूमि भएर गाउँ जाने सपना बल्ल पूरा हुने आशा पलाएको भन्दै थप यस क्षेत्रमा सरकारको बलियो उपस्थितिको पर्खाइ रहेको उल्लेख गर्नुभएको छ ।

‘छाङ्गरु र तिङ्करवासीको वर्षौंको सपना पूरा हुने क्रममा छन्’, उहाँले भन्नुभयो ।

व्यासीको सपना पूरा गर्र्ने क्रममा रहको भन्दै नेपाल सरकारलाई उहाँले धन्यवाद दिनुभएको छ । यो क्षेत्रमा पहिलो पटक सशस्त्र प्रहरीको उपस्थिति भएको छ । छाङ्गरुको गागामा गत वैशाख ३१ गते बोर्डर आउट पोष्ट स्थापना गरिएको हो ।

‘अब यो क्षेत्रमा सीमा प्रशासन कार्यालय, भन्सार कार्यालय र भेटनरी कार्यालय स्थापना हुनु जरुरी छ’, प्रदेशसभा सदस्य बोहराले भन्नुभयो, ‘यी कार्यालय स्थापनाका लागि सरकारसँग विशेष ध्यानाकर्षण गराउँछु ।’

सामरिक महत्व बोकेको अपि नाम्पा संरक्षण क्षेत्र, त्रिदेशीय नाका र धार्मिक हिसाबले यो क्षेत्र निकै प्रभावकारी रहेको भन्दै सरकारले यो क्षेत्रको विकास निर्माणमा चासो दिनुपर्ने व्यासीको माग छ ।


प्रकाशित : २०७७ जेष्ठ ११, आईतवार ०३:५३