लुदअ जेठ १८, काठमाण्डौ
संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न आज संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने भएको छ ।
संघीय संसद सचिवालयले आजको संभावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव दर्ता गर्ने जनाएको छ । यसअघि पनि गएको बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग गरेपछि स्थगित गरेको थियो ।
तर हिजोको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आज भने संशोधन प्रस्ताव दर्ता हुने संभावना बलियो छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।
संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो । यस्तै आजदेखि बजेटमाथी छलफल हुँदैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गएको विहिबार सार्वजनिक गरेको बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।