
लुदअ काठमाडौं, जेठ २२
कोरोनाभाइरसको संक्रमण नियन्त्रणको प्रमुख अस्त्रमध्ये धेरैभन्दा धेरै परीक्षण पनि हो । जुन नेपालमा निकै कम मात्रामा भइरहेको छ ।
समयमा परीक्षण हुन नसक्दा संक्रमितको दर बढ्दै गएको विज्ञहरु बताउँछन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र बढी भरपर्ने प्रणालीका कारण संकलन गरिएका स्वाबहरुसमेत एक हप्तासम्म परीक्षण हुन नसक्ने अवस्था छ ।
यही जेठ २ गते ७२ वर्षीय वृद्ध श्वास–प्रश्वासमा समस्या भइ बारास्थित नेसनल मेडिकल कलेज भर्ना भए । क्षयरोगीसमेत रहेका उनको जेठ ४ गते उपचारका क्रममा मृत्यु भयो ।
अस्पताल भर्ना भएको भोलिपल्ट नै स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो । रिपोर्ट जेठ १२ गतेमात्र आयो ।
रिपोर्टले उनमा कोरोना संक्रमण रहेको पुष्टि गर्यो । त्यो समयमा उनको दाहसंस्कार गरेको ९ दिन पुगिसकेको थियो ।
यस्तै, अर्घाखाँची घर भएका ३५ वर्षीय पुरुषको गत जेठ १० गते मृत्यु भयो । भारतबाट नेपाल आएका उनको नेपाल प्रवेश गर्नासाथ मृत्यु भएको थियो । उनको पनि मृत्यु भएको ६ दिनपछि कोरोना संक्रमण भएको पुष्टि भयो । यी त केही उदाहरणमात्र हुन् ।
हाल स्वाब संकलन गरेको एक साता बितिसक्दा पनि परीक्षण हुन सकेको छैन । त्यसको कारण हो, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र बढी भरपर्नु ।
स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर २० स्थानमा ‘पीसीआर’ परीक्षण गर्ने ल्याब छन् । जसले दैनिक चार हजारसम्म परीक्षण गर्न सक्छन् ।
तर, टेकुबाहेक अन्य १९ ल्याबमा निकै नै कम संख्यामा परीक्षण हुन्छन् ।
प्रयोगशाला प्रमुख डा। रुना झाले दैनिक एक हजार परीक्षण गर्ने क्षमता रहेको तर दिनहुँ पाँच हजारभन्दा बढी स्वाब आउने गरेको बताइन् ।
स्वास्थ्य मन्त्रालयले नियमित ‘प्रेस ब्रिफिङ’मा दिनहुँ दुईदेखि तीन हजार व्यक्तिको पीसीआर परीक्षण भएको नतिजा सार्वजनिक गर्ने गरेको छ । तीमध्ये धेरै टेकुमा नै परीक्षण गरिएका हुन् ।
देशभर एक लाख बढी व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको स्वास्थ्य परीक्षण भएको छैन ।
स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गराउन ‘पुल टेस्टिङ’ गराउन सुरु गरेको थियो । त्यो पछि संक्रमितको दर बढ्दै गएपश्चात् बन्द गराइयो ।
स्वाबको परीक्षण समयमा नहुँदा त्यसले संक्रमण झन् बढ्नसक्ने जनस्वास्थ्यविद् डा। शरद वन्त बताउँछन् ।
परीक्षणको दायरा बढाउन निजी अस्पतालहरुलाई पनि परीक्षण गर्न दिनुपर्ने डा। वन्त बताउँछन् ।
निःशुल्करुपमा परीक्षण गराउन दिनुपर्ने उनको भनाइ छ ।