लुदअ काठमाडौं, जेठ २४
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ ।
२ सय ७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो ।
थपिएकामा ११ जना महिला हुन् ।
कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।
कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको उनले जानकारी दिए ।
अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३३३ जना पुगेको छ । जसमा महिला ६१ जना छन् ।
शुक्रबार ४० जना डिस्चार्ज भएका छन् ।
सबैभन्दा बढी कोशी अञ्चल अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु ६ देखि ११औं दिनको अवधिमा डिस्चार्ज भएका डा। देवकोटाले बताए ।
हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’मा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् ।
दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’मा रहेका उनले जानकारी दिए ।