संविधान संशोधन विधेयक २०७७ स्वीकृत

[sharethis-inline-buttons]

लुदअ जेठ २८, काठमाण्डौ
प्रतिनिधि सभाको मङ्गलबारको बैठकले ‘नेपालको संविधान दोस्रो संंशोधन विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन । बैठकले यो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेस गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । यो विधेयकमा विचार गरियोस् भनी मङ्गलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकोमा खुसी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आउँदा दिनमा छलफल गरिने बताउनुभयो । उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।


प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार ०१:१८