लुदअ कपिलवस्तु, असार ५
कपिलवस्तुमा विहीबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका मायादेवी गाउँपालिका, शिवराज नगरपालिका र वाणगंगा नगरपालिकामा गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्लाको भारतीय सीमावर्ती मायादेवी गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा वडा नं. का १८ देखि ३५ बर्ष उमेर समूहका ५ जना पुरुष रहेका छन् भने २५ बर्षीया एकजना महिला रहेकी छिन् । वडा नं. २ का ४० बर्षीय पुरुष र वडा नं. ८ का ३५ बर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
शिवराज नगरपालिकाका २ बालक, एक महिलासहित ७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा वडा नं. ७ का एक तीन महिने शिशुमा पनि कोरोना देखिएको छ ।
यस्तै सोही वडाका ९ बर्षीय बालकमा कोरोना देखिएको छ । वडा नं. ५ का २३ बर्षीय पुरुष, वडा नं. ९ का १० बर्षीय बालकसहित ३१ र ५० बर्षीय दुई पुरुष र ३८ बर्षीय एक जना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ । वाणगंगा नगरपालिकाको वडा नं. २ का ३४ बर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको छ । विहीबार जिल्लामा १६ जना संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या ६ सय ७३ पुगेको छ ।