७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था संसदीय समितिबाट पारित, ४ दल विपक्षमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ काठमाडौं, असार ८
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन हुने भएको छ ।

प्रतिनिधि सभाको राज्यव्यवस्था समितिको बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । समितिको बहुमतले प्रस्ताव पारित गरेको सभापति शशी श्रेष्ठले जानकारी दिएकी हुन् ।

प्रस्तावको पक्षमा नेकपाका सांसदहरू थिए भने प्रतिपक्षी दलका सांसदहरूले यसमा असहमति जनाए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अरु बुँदामा सहमति भए पनि वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिने व्यवस्थामा सहमति नभएको जनाएको हो । यसबारेमा कांग्रेसले समितिमा फरक मत नै दर्ता गराएको छ ।

मधेश केन्द्रित विपक्षी पार्टी राजपा, समाजवादीले पनि यसको विरोध गर्दै विपक्षमा उभिए । नेमकिपाको पनि फरक मत रहेको छ ।

प्रतिपक्षी कांग्रेस र जसपाका सांसदहरूले भने नागरिकतासम्बन्धी ऐन २०६३ को प्रावधान अहिले पनि कायम हुनु पर्ने बताएका छन् ।

समितिले विधेयकमा अंगीकृत नागरिकता नपाउञ्जेल विदेशी महिलालाई स्थायी बसोबास अनुमति पत्र दिने प्रस्ताव पनि ल्याएको छ । राजनीतिक र सरकारी नियुक्ति जागिरबाहेकका विभिन्न ७ वटा अधिकार दिने उक्त प्रावधान पनि पारित भएको छ । अरु प्रस्ताव भने सर्वसम्मतिले पारित भएका हुन् ।


प्रकाशित : २०७७ असार ८, सोमबार ०२:२८