९ असार, गोरखा ।
कोरोना भाइरसको परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएकी एक महिलाबाट स्थानीय संक्रमण भएको भेटिएको छ ।गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङकी २८ वर्षकी महिला भाउजुको उपचार गराएर चितवनबाट जेठ ८ गते फर्किएकी थिइन् । उनी र भाउजु दुबैलाई स्थानीय जनप्रतिनिधिले जनशक्ति निमाविको क्वारेन्टिनमा राख्यो ।
त्यो क्वारेन्टिनमा भारतबाट फर्किएकाहरुलाई पनि राखिएको थियो । २१ जेठमा स्वाब संकलन गरेर टेष्ट गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइयो ।एकसातासम्म रिपोर्ट आएन । बरु सबैको रिपोर्ट नेगेटिभ आएको खबर आएको भन्दै २८ जेठमा घर पठाइयो ।
तर भोलिपल्ट चितवनबाट आएकी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भयो । उनलाई आइसोलेसनमा राखेर सम्पर्कमा आएकाहरुको परीक्षण गर्न स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये आएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।
संक्रमित महिलाको क्लोज कन्ट्याकमा रहेकी ५ बर्षीया छोरी, ५८ बर्षकी आमा र छिमेकी बालक, जो तीन वर्षका छन्, मा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टिनबाट निस्किएपछि २८ वर्षकी महिला वडा नम्बर ६ अश्राङस्थित आफ्नो माइतीघरमा पसेकी थिइन् । ‘घर जाने बाटोमै माइती पर्छ, छोरीलाई पनि त्यहीँ छाडेकी रहिछन्’, गाउँपालिका–६ का वडाध्यक्ष भीमबहादुर थापाले भने, ‘त्यहीँ बसेर छोरीको कपाल कोरिदिने, सँगै खाजा खाने गरिछन् ।’