लुदअ असार २०, गोरखा
गोरखामा कोरोना सङ्क्रमित एक जनाको ज्यान गएको छ । कतारबाट घर फर्केका पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय पुरुषको गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गएको हो ।
कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति गोरखा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । असार १६ गते कतारबाट नेपाल फर्केका ती पुरुष १७ गते पालुङटार पुग्नुभएको थियो ।
जीवनज्योती माविको क्वरेण्टीनमा राखिएका ती पुरुषलाई लगातार खोकी लागेपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणपछि कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले बताए ।
गोरखा अस्पतालमा ज्यान गुमाएका ती पुरुषकोबारेमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छैन ।