बझाङ पहिरो : ६ जना मृत भेटिए, १ सय १० पशु चौपाया समेत मरे, फेरि पहिरो खस्ने डर

[sharethis-inline-buttons]

लुदअ असार २१, बझाङ
शनिबार राती १ बजे केदारस्युँ गाउँपालिका–८ को मल्लेसीमा गएको पहिरोमा परेर एकै परिवारका चार सहित ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् ।

पहिरोले २० घर पूर्ण रुपमा बगाएको र दुई घरमा क्षति पुर्याएको छ । पहिरोका कारण अरु ४५ घर जोखिममा पर्नुका साथै गाउँका करिब चार सय जना पूर्ण रुपमा विस्थापित भएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहोराले बताए ।

पहिरोमा पुरिएका ४१ वर्षीया राममती जेठारा, उहाँका ११ वर्षीया छोरा प्रयाग जेठारा र दुई छोरीहरु १६ वर्षिया शान्ति र ७ वर्षकी अस्मिताको शव फेला परेको छ । १५ वर्षीया सन्तू जेठाराको पनि शव भेटिएको छ । यस्तै ८० वर्षीय दले जेठाराको पनि ज्यान गएको छ । यस्तै गिरिजा जेठारा शनिबार साँझसम्म बेपत्ता भएकाले उहाँको खोजी भैरहेको छ । राममतीका श्रीमान कटे जेठारा भने रोजगारीका लागि भारतमा हुनुहुन्छ ।

जिल्ला सदरमुकाम चैनपुरबाट गएको डीएसपी गणेश बम सहितको नेपाल प्रहरीको टोली, डीएसपी गणेश शाहको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली र कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ केदारस्युँकै बागथलाबाट खटिएको नेपाली सेनाको टोली र जिल्ला अस्पतालबाट डाक्टर सन्दिप ओखेडाको टोली तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

गाउँभन्दा करिब १ सय ५० मिटर माथि रहेको रातापड सामुदायिक वनबाट बीच गाउँमा पहिरो खसेको हो । सामुदायिक वनको बीचमा वर्षातमा मात्रै पानी आउने सानो मुहान छ । मुहानको पानी निकास हुने सानो खोल्सो गाउँको बीच भागबाट भएर बग्छ । त्यही खोल्सोमा डाँडाको टुप्पोबाट पहिरो खसेको र खोल्सोको निकास थुनिएर ड्याम बनेको हुन सक्ने स्थानीय जयबहामदुर जेठाराले बताए ।

विस्थापितको बिचल्ली गाउँको मध्य भागमा पहिरो गएपछि फेरि पहिरो जान सक्ने डरले गाउँका कोही पनि आफ्नो घरमा बस्न सकिरहेका छैनन् । विस्थापित भएकाहरुलाई स्थानीय नवादेउ प्राथमिक विद्यालय र छिमेकी गाउँ घड्यानमा एक दिनको लागि व्यवस्थापन गरिएको वडाध्यक्ष गणेश बोहराले बताए ।

उनका अनुसार विद्यालयमा रहेकाहरुलाई सामुहिक रुपमा खानाको व्यवस्थापन गरिएको र घड्यान गाउँमा गएकाहरुलाई त्यहाँका स्थानीयले खाना र बासको व्यवस्था गरेको छ ।

पहिरो पीडितहरुका लागि भनेर नेपाली सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटनास्थलमा पुर्याइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो । अझै थप राहत लिएर आइतबार जिल्ला प्रशासन कार्यालयको टोली मल्लेसी जाने उनको भनाइ छ ।

यस्तै गाउँपालिकाले पहिरोमा परेर ज्यान गुमाएकाहरुको लागि तत्काल किरिया खर्च बापत ३५ हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताए । आइतबार नै अर्को बैठक बसेर विस्थापितहरुलाई अन्य सहयोग गर्नेबारेमा निर्णय गरिने पनि उनले बताए ।

पहिरोमा परेर २० परिवारका ११० पशुचौपाया समेत मरेका छन् ।


प्रकाशित : २०७७ असार २१, आईतवार ०३:०६