लुदअ पोखरा, असार २६
पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ भने ७ जना नै घाइते भएका छन् ।
पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।
१० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियातामा अस्पताल पुर्याएको छ ।
उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । राती बर्थडे मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए ।
अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ । त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रवक्ता हमालले बताउनुभयो ।