लुदअ असार २७, काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शनिबार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ हजार सात सय १९ पुगेको छ ।
त्यस्तै शनिबार नै चार सय ३१ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको सङ्ख्या आठ हजार चार सय ४२ पुगेको छ ।
अहिलेसम्म कोरोनामुक्त हुनेको यो सङ्ख्या कुल सङ्क्रमण पुष्टि भएकोमध्ये आधाभन्दा धेरै हो ।
सरकारले ६ वटा जिल्लामा कोरोना सङ्क्रमित नरहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
६ जिल्ला कोरोनामुक्त भएसँगै ७१ जिल्लामा कोरोना सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण भने घटाउँदै लगेको छ । हरेक दिन साढे चार हजारको औसतमा परीक्षण गरिरहेको सरकारले शनिबार तीन हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ७९ हजार पाँच सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २४ हजार ९७ जना रहेका छन् ।