भारतीय न्यूज च्यानलहरु माथिको बन्देज तत्काल खोल्न सकिदैन : सरकार

[sharethis-inline-buttons]

दुदअ काठमाडौं, असार २८
भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिंदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताउनुभयो ।

मन्त्री डा। खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेदारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताउनुभएको हो ।

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उहाँले बताउनुभयो ।

नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको एवं राष्ट्रिय एकता प्रदर्शन गरेकाले नेपालीहरुको एकताबाट तर्सेकाले पनि भारतीय मिडियाले यस्तो व्यवहार गरेको हुन सक्ने मन्त्री खतिवडाले तर्क गर्नुभयो ।

सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाएको र परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा मिडिया सोसाइटीले भने आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागु गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।


प्रकाशित : २०७७ असार २८, आईतवार १७:०६