म्याग्दीको पहिरोमा मृतकको संख्या २८ पुग्यो, थप १ जनाको शव फेला

[sharethis-inline-buttons]

लुदअ म्याग्दी, असार २८
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ ।

मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार बेपत्ता भएका तीन जना जीवितै भेटिएका छन् । थप चार जना अझै बेपत्ता छन् । मराङका १९, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको छ ।

पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् ।

प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सात जनाको बेनी अस्पताल, एक जनाको काठमाडौँ र चार जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।


प्रकाशित : २०७७ असार २९, सोमबार ०१:०९