लुदअ असार २९, काठमाण्डौ
भारत हुँदै नेपाल आएको सलहको अर्को झुण्डले धेरै नोक्सानी नगर्ने विज्ञले बताएका छन् ।
प्यूठान, अर्घाआँची लगायतका जिल्लामा केही नोक्सानी गर्न सक्ने भए पनि अहिले पानी परिरहेकाले धेरै क्षति भने नहुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताउनुभयो । तर सावधानी भने अपनाउन उहाँले आग्रह गर्नुभएको छ । झण्डै १० देखि १२ लाखको संख्यामा आएका सलहको झुण्ड हिजो बेलुका प्यूठानमा रहेका र केही ठाउँमा नोक्सानी गरेको खबर आएको उहाँले बताउनुभयो ।
यो झुण्डले कत्तिको नोक्सानी गर्छ भन्ने कुरा मौसममा भर पर्ने उहाँको भनाई छ । घाम लाग्यो भने केही नोक्सानी गर्न सक्छ । तर पानी निरन्तर परिरह्यो भने क्षति गर्ने सम्भावना कम हुने भएकाले किसानलाई नआत्तिन बरु भगाउने उपायको खोजी गर्न उहाँले आग्रह गर्नुभएको छ ।
अहिले हावाको गति पूवोत्तर दिशामा रहेकाले भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हुमागाईंले बताउनुभयो । अझै केही सख्यामा नेपाल आउने सम्भावना कायमै रहेको उहाँको भनाई छ । भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकाबाट अस्ति नेपाल आएको हो ।
१५ दिन पहिले पनि नेपालमा सलहका ससाना झुण्ड भित्रिएका थिए । तिनीहरु भने विभिन्न कारणले अहिले नष्ट भैसकेका छन् ।