
थानेश्वर अधिकारी ,काठमाण्डौ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको कलाकार कल्याणकारी कोषको अध्यक्षमा प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष प्रजापति पराजुली चयन भएका छन् ।
प्रतिष्ठान नेपालले स्थापना गरेको कलाकार कल्याणकारी कोषको विशेष बैठकले आगामी ३ बर्षका लागी नयाँ अध्यक्षमा सर्वसम्मतबाट प्रतिष्ठानका पुर्व अध्यक्ष प्राज्ञ पराजुलीलाई चयन गरेको हो । उपाध्यक्षमा प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम न्यौपाने, सदस्य सचिवमा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी, कोषाध्यक्षमा प्रतिष्ठान निवर्तमान केन्द्रीय सदस्य पुरुषोत्तम थापा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रतिष्ठानका संस्थापक केन्द्रिय अध्यक्ष अमर विरही गुरुङ, पुर्व केन्द्रिय अध्यक्ष प्राज्ञ दुर्गा रायमाझी, पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, निवर्तमान केन्द्रिय अध्यक्ष बद्री पंगेनी, नारायण रायमाझी, राजन लम्साल, कृष्णसुधा ढुंगाना, तेज बहादुर के.सी., ईन्द्र जि.सी., हरी न्यौपाने, टिकाराम चपाईं रहेका छन् भने मनोनित सदस्यमा बद्री पराजुली र पार्वती जि.सी.लाई चुनेको छ ।
आज केन्द्रीय कार्यालय, तिलिङ्गाटार, काठमाडौंमा बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै कोषका सदस्य सचीव रमेश बिजीले कलाकार कल्याणकारी कोषले पुर्णता पाएको जानकारी दिएका छन् । संस्थाका पुर्व अध्यक्ष प्राज्ञ दुर्गा रायमाझीले यस अघि दुई कार्यकाल कोषको अध्यक्ष भैसकेका छन् र उनको कार्यकालमा १ करोडको कलाकार कल्याणकारी कोष बनेको छ ।
कोषको नयाँ अध्यक्ष प्राज्ञ पराजुलिले कलाकारहरुद्वारा कलाकारकै हितका लागि गठन गरिएको कलाकार कल्याणकारी कोषले आफ्नो कार्यकालमा गति लिने र यसलाई थप मजबुत बनाउनको लागि बिशेष पहल गर्ने प्रतिबद्दता जाहेर गरेका छन्।

