बाढी पहिरोले एकै दिन ११ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

लुदअ साउन ७, काठमाडौं
लगातारको वर्षापछिको बाढी पहिरोका कारण मंगलबार ११ जनाको मृत्यु भएको छ। साथै दुइ जना वेपत्ता भएका छन्। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले पहिरोमा पुरिएर धादिङमा ३, नवलपरासीपूर्व, दार्चुला र काठमाडौंमा २–२ जना र म्याग्दीमा एक जना तथा बाढीले बगाएर रौतहटमा एक जनाको मृत्यु भएको जानकारी दिए ।

हेनुहोस् कुन–कुन जिल्लामा कति क्षति ?
म्याग्दीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्। त्यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शङ्करपुरमा पहिरोले घर पुरिएर दुई जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन्। घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए।

काठमाडौँको टोखामा पहिरोमा परेर जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ। धनकुटाको भिरगाउँ गाउपालिका–२ गुराँसे घर भएका राम कुमार राना मगरका ३ वर्षीया सन्तान सन्ध्या र सचिनको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। खाना खाँदै गरेको अवस्थामा खसेको पहिरोले उनीहरुलाई पुरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक रोशन खड्काले जानकारी दिए। अन्यलाई भने उक्त स्थानबाट उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको र स्थिति सामान्य रहेको डिएसपी खड्काले बताए। यस्तै पूर्वी नवलपरासीको बुलिगंटार गाउँपालिका–२ डाँडाझेरीमा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको हो। बिहान करिब ३ बजेतिर झरेको पहिरोले डाँडाझेरी टाँडीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीको मृत्यु भएको हो।

यसैगरी मंगलबार बिहान ४ बजे धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकको काफलगैरीमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २२ वर्षीय मिलन खाँड, उनकी श्रीमती १९ वर्षीया सम्झना खाँड र उनीहरुको डेढ वर्षीय छोरा रहेका छन्। आज बिहान ४ बजे पहिरो खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जनाए।

रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटार बस्ने ५८ वर्षीय सुकमान थिङको बाढीले बगाउँदा मृत्यु भएकोे छ। गैडाटार गाउँस्थित अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले थिङलाई बिहान ११ बजे बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका थिङको शव ३ घण्टापछि भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले बताए। बाँधमा पानीको बहाव बढेपछि खोल्न गएका बेला उनलाई बाढीले बगाएको बुझिएको छ।


प्रकाशित : २०७७ श्रावण ७, बुधबार ०१:३७