काठ चोरी गर्दै गर्दा ११ तस्कर फन्दामा,१० फरार

[sharethis-inline-buttons]

दाङ, साउन १२ । दाङमा रातको समयमा काठ तस्करी गर्दै गरेका ११ जना पक्राउ परेका छन् । गएराती जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ११ जना पक्राउ परेको देउखुरी डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रबीण बिडारीले जानकारी दिनुभयो । काठ तस्करमा संलग्न अन्य १० जना भने भागेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुटी निवासी २५ वर्षिय विरबहादुर वली, सोही ठाउँ निवासी १८ वर्षिय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षिय शेखर थापा, ३६ वर्षिय तिलक नेपाली, सुन्दरपुर निवासी २७ वर्षिय विष्णु गिरी, नयाँ गाउँ निवासी १८ वर्षिय राहुल भुषाल, पिपरखुटी निवासी २१ वर्षिय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका वडा नम्बर ८ सुकुम्वासी गाउँ निवासी २४ वर्षिय दुर्गे थापा, सोहि ठाउँ कहलुवा निवासी १९ वर्षिय हेम थापा, २५ वर्षिय प्रकाश कुमाल, २० वर्षिय सञ्जिव विक रहेका छन् ।

राष्ट्रिय वनबाट सालको घप्पू ल्याउदै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी र डिभिजन वन कार्यालय देउखुरीबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठ तस्करलाई नियन्त्रणमा लिएर फर्किने क्रममा युवाहरुले ईलाका प्रहरी कार्यालय भालुबाङबाट गएका दुई जना प्रहरी माथि कुटपीट गरी घाइते समेत बनाएका छन् ।

चोरी हुन लागेको २१ क्युफिट काठ

काठतस्करको कुटपीटबाट प्रहरी हवल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । ११ जना तस्करसँगै वन कार्यालयले २१ क्युफिट (पन्ध्र थान) सालको चिरान घप्पू बरामद गरेको छ। राप्ती गाउँ पालिका वडा नबर ४ सुङ्गुरेका अब्दुल मियाले ति युवाहरुलाई प्रयोग गरि काठ ओसारपसार गर्न लगाएको पक्राउ परेका व्यक्तिहरुले बताएका छन्।

राष्ट्रिय जंगलबाट तल गाउँसम्म एक वटा घप्पू पुर्याए बाफत एक हजार रुपैयाँ दिने गरेको उनीहरुको भनाई छ। पक्राउ परेकालाई बन पैदावर (साल चिरान काठ) ओसारपसार कसुर अपराध अन्तर्गत कारबाही हुने वन प्रमुख बिडारीले जाकारी बताउनुभयो । साथै अन्य फरार भएकाहरुको खोजि कार्य भैरहेको वन कार्यालयले जनाएको छ।


प्रकाशित : २०७७ श्रावण १२, सोमबार १५:४५