लुदअ साउन २२, काठमाण्डौ
नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाण्डौमा एक जना गरी पाँच जनाको कोरोनाबाट ज्यान गएको पुष्टि भएसँगै मृतकको कुल सङ्ख्या ६३ पुगेको हो ।
विराटनगरको कोशी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको ज्यान गएको कोशी अस्पतालले जनाएको छ ।
पर्साको वीरगञ्ज–१५ भिश्वाका ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गएको १६ गते अस्पताल भर्ना गरिएकी सर्लाही मलङ्गवाकी ६५ वर्षिया महिलाको ज्यान गएको सशस्त्र प्रहरी अस्पताल बलम्बु काठमाण्डौले जनाएको छ ।
यसैबीच सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको ज्यान गएको छ । छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा दुई जनाको र एक जनाको उपचारका लागि धरान लाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताउनुभयो । उनीहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि पठाइएको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो ।