आज कृष्ण जन्माष्टमी, पूजा आराधना गरी मनाइँदै

[sharethis-inline-buttons]

लुदअ साउन २७, काठमाण्डौ
भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी आज परेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ ।

आज ललितपुर पाटनको मंगलबजारमा रहेको कृष्ण मन्दिर, काठमाण्डौको गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठमा रहेको कृष्ण मन्दिरमा र देशभरका अरु कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

तर कोरोना संक्रमणका कारण आज यी मन्दिर सर्वसाधारणका लागि खोलिएको छैन । आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ ।


प्रकाशित : २०७७ श्रावण २७, मंगलवार ०४:०८