देशभर रगत अभाव, रक्तदान गर्न रेडक्रसको अनुरोध

[sharethis-inline-buttons]

लुदअ ७ भदौ, काठमाडौं
बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरु निषेधाज्ञाका कारण स्थगित भएका छन् । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रमामात्र होइन धरान, विराटनगर, चितवनलगायत स्थानमा पनि रगत अभाव भइरहेकोे रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा लागू रहेको र आसपासका जिल्लाहरुबाट पहिलेजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेको उनले जानकारी दिए ।


प्रकाशित : २०७७ भाद्र ७, आईतवार ०२:५०