विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमानलाई पुनः नियुक्ति गर्ने तयारी

[sharethis-inline-buttons]

लुदअ भदौ २७, काठमाडौं
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ। आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका हुन्। कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँदै छ। कुलमानलाई उनको कार्यकाल सकिने दिन नै थप कार्यकालको लागि नियुक्ति दिने तयारी भएको हो।

यसअघि प्रधानमन्त्री ओलीले नै घिसिङलाई कुलमानलाई पुनस् नियुक्ति गर्न विषयमा आनाकानी गर्दा कुलमानलाई पुनस् नियुक्ति गर्ने विषय अन्योल भएको थियो। शुक्रबार सत्तारूढ पार्टी नेकपाको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्रीसँग कुलमानबारे अन्तिम निर्णय गर्न ऊर्जामन्त्री पुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उक्त छलफलमा प्रधानमन्त्री ओली कुलमानलाई नै दोहोर्‍याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ।

‘हिजोको छलफलपछि प्रधानमन्त्री सकारात्मक भएपछि कुलमान सरलाई नै पुन: नियुक्ति दिने काम अघि बढेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘उहाँलाई पुनस् नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदका लागि चाहिने आवश्यक कागजात ऊर्जा मन्त्रालयले तयार पारिसकेको छ।’ हिजोको छलफलपछि प्रधानमन्त्रीले पनि कुलमानलाई नै पुनस् नियुक्ति गर्नका लागि आवश्यक तयारी गर्न मन्त्री पुनलाई निर्देशन दिएको मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।


प्रकाशित : २०७७ भाद्र २७, शनिबार ०९:०७