लुदअ २७ भदौ, वीरगञ्ज
वीरगञ्ज ३१ बेल्वामा ३० वर्षीय सतन माझीले बिहीबार विष सेवन गरे । मध्यान्न १२ बजेतिर उपचारका लागि इन्डो नेपाल हस्पिटल प्रालिमा लगियो । तर, स्वास्थ्यमा सुधार आएन, शुक्रबार बिहानै मृत्यु भयो ।
दलित मुसहर माझी समुदायका उनको परिवारसँग अस्पताललाई तिर्ने पैसा थिएन ।
सतन माझीको परिवारसँग जग्गा जमिन सम्पत्ति केही छैन । सतन वीरगञ्ज ३१ बेल्वास्थित ससुरालीमा बस्दै आएका थिए । ससुरालीमा भएको फुसको घर पनि अर्काको जमिनमा बनेको छ ।
लकडाउनअघि उनी धान काट्नेलगायतका ज्याला मजदुरीको काम गर्थे । लकडाउनपछि उनले काम पाउन छोडे ।
बाम नपाएपछि उनले जंगलमा गएर दाउरा ल्याउन थालेका थिए । प्रहरीको आँखा छलेर दाउरा ल्याएर बिक्री गर्थे ।
दैनिक मजदुरी गरेर आउने रकमले परिवारको जीविका चल्दै आएको थियो । त्यो नै बन्द भएपछि घरमा कलह पनि बढ्दै गयो । बेलुका मात्र थोरै रक्सी पिउने सतनले दाउरा बेचेर आएको पैसाले बिहानैदेखि रक्सी पिउन थाले ।
श्रीमती रवितादेवी श्रीमानको पाराले हैरान थिइन् ।
बिहीबार बिहान पनि सतन दाउरा बेच्न गएका थिए, रक्सी खाएर आएछन् । ‘रक्सी खाएर आएका रहेछन्, चामल सकिएको छ भनेर पैसा मागेकी थिएँ । उल्टै रिसाएर गाली गरे ।’ श्रीमती रवितादेवीले भनिन् ‘पछि जंगलतिर गएका थिए, विष खाएछन् । अस्पताल लगे पनि बचाउन सकेनौं ।’
रवितादेवीका अनुसार तीन महिनादेखि दिनहुँ अलिकति चामल किनेर घरमा भात पाक्न थालेको थियो । किन्न नसकेको दिन घरमा चुल्हो बल्दैनथ्यो । कहिलेकाँही वरपर पैचो मागेर पनि गुजारा चलाइएको थियो ।
‘पहिलेदेखि नै पैसा हुँदा खाना पाक्ने, नभए नपाक्ने हुन्थ्योे,’ रविताले भनिन् ‘अब त घरमा चामल दाल केही छैन, कमाउने मान्छे पनि छैन । के गर्ने, समझमै आइरहेको छैन ।’
सनतको कदमले परिवार पूरै शोकमा डुबेको छ । सतनकी आमा लक्ष्मीनिया देवीका अनुसार पछिल्लो दिनमा सतनले कसैले भनेको नमान्ने र रक्सी धेरै खाने गरेका थिए । ‘उसैले कमाउँथ्यो र त घर चलिरहेको थियो ।’ आमाले भनिन् ‘अब त कसरी गुजारा चलाउने ?
सतनका एक छोरा र एक छोरी छन् । बाबुले आत्महत्याको बाटो रोजेपछि उनीहरुको भविष्य थप अन्योलमा परेको छ ।
सामाजिक संस्थाको सहयोगमा दाह संस्कार
आर्थिक अवस्था कमजोर भएकाले सतन शव उठाउन नसकेको जानकारी पाएपछि भाइजान अफ वीरगञ्जका अध्यक्ष नौसाद अन्सारीले मानवीय हिसाबले सहयोग गरेको बताए ।
अनलाईन खबरबाट साभार