चीनबाट दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रियो, पाँच ट्रक अरु सामग्री रसुवागढी आइपुग्दै

[sharethis-inline-buttons]

लुदअ असोज ८, काठमाण्डौ
रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् ।

आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कामसमेत सकेर दुई वटै ट्रक गन्तव्यतर्फ पठाइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । झण्डै एक महिनादेखि बन्द उत्तरको केरुङ नाका हिजोदेखि सञ्चालनमा आएको हो । चिनियाँ पक्षले अनुमति दिएपछि स्वास्थ्य सामग्री मितेरी पुलमा आइपुगेका थिए ।

केरुङका गोदाममा राखिएका अरु सामान भने विगतकै अनुपातमा पठाउने तयारी छ । अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र भोलिसम्ममा पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभएको छ ।

अहिलेकै परिमाणमा आयात हुने हो भने केरुङमा रहेका सामान नेपाल भित्रिन झण्डै ६ महिना लाग्ने व्यवसायीले बताउँदै आएका छन् । व्यवसायीको आग्रहअनुसार नेपाली पक्षले सामान आयातको परिमाण बढाउन प्रस्ताव गरेको छ ।

प्रस्तावअनुसार सामान पठाउने हो भने राख्न ठाउँ पुग्छ या पुग्दैन भनेर चिनियाँ पक्षले रसुवागढी नाकाको भन्सार यार्ड पनि अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।


प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०३:३५