सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन !

[sharethis-inline-buttons]

लुदअ काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । ‘२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा। डा. जागेश्वर गौतमले भने ।

मन्त्रालयका तथ्यांकअनुसार बुधबार ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र, सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ ।

यसअघि चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन थियो । त्यसपछि लकडाउन वा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिइयो र, भदौ पहिलो साता संक्रमण बढेसँगै धेरै जिल्लामा निषेधाज्ञा थियो ।

पछिल्लो समय निशेषज्ञा हटेको छ भने असोज १ गतेबाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान, होटल रेस्टुरेन्ट सबै खुला भएको छ ।

तर संक्रमण नियन्त्रणमा आइसकेको छैन । संक्रमण पिकमा पुग्न बाँकी नै रहेको भन्दै सरकारले जनस्वास्थ्य सुरक्षाको मापदण्डहरू पालना गर्न आग्रह गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । साथै मापदण्ड पालना भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउन कोभिड–१९ संकट व्यवस्थापन सेन्टरलाई अनुरोध पनि गरेको छ ।


प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०३:४५