
लुदअ असोज ८, काठमाण्डौ
देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद रङ्गमती शाहीले डोजरको जथाभाबी प्रयोगले गाउँबस्तीमा एकपछि अर्को गर्दै पहिरो गइ सन्त्रास बढाएको हुँदा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अहिले ठूलो चिन्ताको विषय बनिरहेको बताउनुभयो ।
प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सांसद शाहीले भन्नुभयो, ुपहिरोबाट यस वर्ष ठूलो जनधनको क्षति भएको छ, विकासका नाममा वातावरण, भूक्षय, लागत एवं योजनाको लेखाजोखाविना होडबाजीका रूपमा अन्धाधुन्ध पाखो र भित्तो भत्काउने कार्यले पहिरोका घटना ह्वात्तै बढेको छ, यो ठूलो चिन्ताको विषय हो ।ु देशका विभिन्न भागमा यस वर्षको पहिरोमा मात्रै सयौँले ज्यान गुमाउनुपरेको घटनाको विवरण सुनाउँदै उहाँले स्थानीय जनप्रतिनिधिकै संलग्नतामा यस्तो कार्य भइरहेको दाबी गर्नुभयो ।
अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजना विना जथाभाबी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दिगो र जनताको हितमा नहुने समितिको ठहर छ ।

