
लुदअ,काठमाण्डौं ।
देश भरीका युवाहरुको छाता संगठन नेपाल युवा संस्था संजाल (आयोन) द्धारा युवाहरुलाई कानून निर्माण प्रक्रिया, संसदीय अभ्यास, सुशासनमा युवाको सहभागिता लगायत विषयमा प्रशिक्षण दिने उद्देश्य अनुरुप भर्चुअल बिधिद्धारा तिन सय युवाका लागी युथ पार्लियामेन्ट स्कुल सञ्चालन गरिएको छ ।
सो कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का गरी तीन सय बढी युवाहरु सहभागि रहेको छ । सोमबार देखि सुरु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, कानुनका ज्ञाता, मानवअधिकारकर्मी, विषय विज्ञहरुले प्रशिक्षण दिने आयोनका अध्यक्ष जगदीश ऐरले बताएका छन् । यूएनडीपी अन्तर्गतको संसद सहायता कार्यक्रम (पिएसपी) नेपालको सहयोगमा सञ्चालित कार्यक्रमले युवाहरुलाई कानुन निर्माण प्रक्रियाका बारेमा जानकारी दिनुका साथै संसदीय र राजनीति अभ्यासका बारेमा जानकारी मिल्ने अध्यक्ष ऐरले बताए ।
प्रशिक्षणमा १८ देखि ३५ वर्षसम्म उमेर समूहका युवाहरुको सहभागिता रहेको कार्यक्रम छ दिन सम्म चल्नेछ । कार्यक्रममा उत्कृष्ट युवालाई प्रदेशमा नीतिगत वकालत गर्न निश्चित कोष मार्फत सहयोग गर्ने आयोनले जनाएको छ।
आयोनले यस अघि देशभरका १ हजार युवालाई नमुना संसद कार्यक्रम अन्तर्गत प्रशिक्षण दिइसकेको छ । यसका साथै आयोनले सुशासनका लागी युवा कार्यक्रम मार्फत बिभिन्न जिल्लाहरुमा स्थानिय तहमा युवा सहभागिता, योजना छनौट प्रकृया , नागरिक शिक्षा ,मतदाता शिक्षा लगायतका बिषयहरुमा अभियान संचालन गरिरहेको आयोनका उपाध्यक्ष थानेश्वर अधिकारीले बताए । ।

