
लुदअ मंसिर ३, महोत्तरी
मिथिलाञ्चल क्षेत्र सङ्गीतमय बनेको छ । छठ र भाइबहिनीबीचको प्रेमको प्रतीक रहेको समाचकेवाको गीत घरघरमा गुञ्जिरहेको छ ।
विशेष गरी छठ पर्व र समाचकेवा पर्वमा आधारित गीत तथा मैथिली, भोजपुरी र नेपालीलगायतका भाषामा तयार पारिएको गीत सङ्गीतले मिथिला क्षेत्रलाई नै सङ्गीतमय बनाएको गौशाला नगरापालिका १२ का युवा नेता दिपलाल महतोले बताउनुभयो ।
महोत्तरी युवा सञ्जालका अध्यक्ष चुडामणि यादवले गाउँघरमा डिजेको बिगबिगी बढिरहेको समयमा पनि घरघरमा लोकगीतहरू गुन्जिनु सुखद पक्ष रहेको धारणा राख्नुभएको छ । पुरानो संस्कृतिलाई जगेर्ना गराउनका लागि यस्ता गीत सङ्गीतले अहम् भूमिका निर्वाह गर्दै आएकोले यस्ता संस्कृति नवपुस्तालाई हस्तान्तरण गरिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
गीतसङ्गीत निर्माणको क्रममा स्थानीय कलाकारहरू होडबाजी गर्दा कतै न कतै भाषाको शब्द छनोटमा ध्यान नदिएको कलाकार तथा सञ्चारकर्मी फुलगेन महतो बताउनुहुन्छ । अहिले निर्माण हुने गीत सङ्गीतहरू सेन्सर विना नै सामाजिक सञ्जालमा भाइरल भएपछि कतै न कतै भाषा र कलालाई समेत दूषित गर्दै आएकोले सम्बन्धित पक्षले यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
अहिले हरेक घरघर, टोल, गाउँघर, चौक चौराहा, हाटबजार, सहरको गल्ली गल्लीमा पर्व विशेष गीत सङ्गीत गुन्जिँदा माहोल नै सङ्गीतमय बन्न पुगेको हो । यस्ता गीत सङगीतहरू अहिले युट्युबमा सजिलै रुपमा उपलब्ध छ ।

