खुलामञ्चको खानालाई महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदियो

[sharethis-inline-buttons]

लुदअ मंसिर ३, काठमाण्डौ
काठमाण्डौ महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीको प्रसूति गृह पछाडि सारिएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाँधुलो हुने र यसबाट कोभिड–१९ सङ्क्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मङ्सिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टिम नेपालले खुलामञ्चमै मङ्गलबार खाना खुवाएको थियो । त्यसपछि भने महानगरपालिकाले वैकल्पिक ठाउँ दिएको छ ।

महानगरपालिकाले थापाथलीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडि रहेको खुला ठाउँ उपलब्ध गराएपछि बुधबारदेखि त्यही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो । नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताउनुभयो । उहाँले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीमा व्यवस्था गरिएको ठाउँमा खाना खान आउनसमेत आग्रह गर्नुभयो ।

काठमाण्डौ महानगरपालिकाले सार्वजनिक यातायात सुरु भएको अवस्थामा सार्वजनिक ठाउँहरूमा भिडभाड हुने गरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समस्या भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले असहाय तथा अशक्तलाई भोजन गराउने सङ्घ संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताउनुभयो ।


प्रकाशित : २०७७ मंसिर ३, बुधबार १२:५९