उद्योग वाणिज्य महासंघको निर्वाचन आजः ६४ पदका लागि १ सय २१ जना चुनावी मैदानमा

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, मंसिर १३
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाबाट बन्ने नयाँ कार्यसमितिका लागि शनिबार राजधानीमा निर्वाचन हुँदैछ । महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरु गरि कुन ६४ पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि देशैभरबाट व्यवसायी मतदाता प्रतिनिधिहरु यतिखेर काठमाडौँमा भेला भएका छन् ।

महासंघको निर्वाचन समितिले तोकेको समय अनुसार अहिले बिहानको ठिक ८ बजेबाट निर्वाचन प्रक्रिया शुरु हुनेछ । ८ बजेबाट शुरु हुने मतदान प्रक्रिया बेलुका ४ बजेसम्म चल्ने छ भने मत परिणाम शनिबार बेलुका नै सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनका लागि महासंघले तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ । उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एशोसिएट समूहका लागि कार्की ब्याङकेट माइतीघर र वस्तुगत संघ समूहका लागि महासंघको आफ्नै सचिवालय, टेकु निर्वाचन केन्द्र तोकिएको छ ।

कोभिड–१९ कै बीच आयोजना हुँदै गरेको निर्वाचनको स्वास्थ सुरक्षालाई ध्यानमा राखि छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यसो त कोभिड–१९ को संक्रमण तथा स्वास्थ सुरक्षालाई नै ध्यानमा राख्दै कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूलाई भने सबै समूहका लागि एउटै निर्वाचन केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीबाटै मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए ।

६२ पदका लागि १२१ जना चुनावी मैदानमा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष सहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदका लागि निर्वाचन हुँदैछ । प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आंकक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उमेदवारी फिर्ता गर्दा र २ जना निर्विरोध हुँदा अहिले बाँकी ६२ पदका लागि १२१ जना चुनावी मैदानमा छन् । जसमध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य निर्वाचित हुने छन् । अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्ष नै संवत् अध्यक्ष बन्ने महासंघको विधानमै व्यवस्था गरिएको छ ।

१ हजार १ सय १६ जनाले मतदान गर्ने

महासंघको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार निर्वाचनमा १ हजार १ सय १६ जना मतदाताहरुले मतदानमा भाग लिदै छन् । भोटिङ लिस्ट अनुसार जिल्ला÷नगर तर्फबाट १०५, वस्तुगत तर्फबाट १०१ , एशोसिएट तर्फबाट ९०४, द्धिराष्ट्रियबाट ६ र संस्थागत तर्फबाट १२ गरी कुल १,११६ मतदाताले ६४ पदका लागि मतदान गर्नेछन् । तर मतदान भने जुन समूहको निर्वाचन हो सोही समूहका सदस्यले मात्रै समूहगत रुपमा उठेका उमेदवारलाई मतदान गर्न पाउनेछन् । यद्यपि वरिष्ठ उपाध्यक्षलाई भने सबै मतदाताहरु मत दिन पाउने व्यवस्था गरिएको छ। हाल चुनावी प्रतिस्पर्धामा वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान रहेका छन् भने, जिल्ला÷नगर तर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत संघ तर्फ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र एशोसियट तर्फ उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाई मैदानमा छन् ।

महासंघको विधानअनुसार गत चैतमै हुनुपर्ने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनको निर्वाचन कोभिड–१९ का कारण प्रभावित हुँदै आएको थियो । पटकपटकको बिफल प्रयासका बाबजुद अन्तिम पटकको तयारी सरकारबाट स्वीकृति पाएसँगै महासंघले आफ्नो ५४ औं साधारणसभा र नयाँ कार्यसमिति छनोटको निर्वाचन गर्न लागेको हो ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार ०१:४५