२१ सदस्यीय टोलीसहित चिनियाँ रक्षामन्त्री आज आउँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ काठमाडौं, मंसिर १४
चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आज हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेललको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ।

नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन भ्रमण भइसकेकाले बेइजिङबाट पनि रक्षामन्त्रीको भ्रमण हुनुलाई असामान्य मान्नुपर्दैन। एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने छन्। परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भने पनि यसलाई सद्भावना भ्रमण भन्न सकिन्छ।

दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन तथा एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन यो भ्रमणबाट मद्दत पुग्ने मात्र नभई सम्बन्धको नवीकरण एवं आत्मीयता प्रकट गर्ने उपयुक्त अवसर हुनेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणपूरा भएको झण्डै एकवर्ष पछि उच्चस्तरमा पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीनले नेपाललाई प्राथमिकतामा राखेको पुनर्पुष्टि पनि गरेको छ।

अरनिको र भृकुटीले जोडेको युगौँ पुरानो नेपाल–चीन सम्बन्ध सन् १९५५ मा दुईमुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएपछि निरन्तर मौलाउँदै गएको छ भने मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदानप्रदानले पारस्परिक आत्मीयता अझ बढाएको छ।


प्रकाशित : २०७७ मंसिर १४, आईतवार ०१:५८