लुदअ गुल्मी, मंसिर १५
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अब उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकामा १५ शय्याको अस्पताल शिलान्यास गर्दै मन्त्री ज्ञवालीले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अब अन्त्य भएको बताएका हुन् । नागरिकहरुको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको भन्दै देशका ३९६ वटा अस्पतालहरूको एकै साथ शिलान्यास गर्नुले पनि जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको प्रमाणित गरेको उनले दाबी छ ।
वर्तमान सरकारले जनमुखी कामहरु गर्दै आएको उनले दाबी गर्दै दुर्गम स्थानका नागरिकले उपचार नपाएर अकालमै ज्यान गयो भन्ने समाचारहरु सुन्न नपर्ने गरी सरकारले काम गरिरहेको बताए । देशका ३९६ वटा अस्पतालहरूका लागि झण्डै ५७ अर्ब बजेट सरकारले ब्यबस्थापन गरेको उनले बताए । यस्तै पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको बिबाद छलफल र बैठकका माध्यमबाट समाधान हुने भन्दै नआत्तिन स्थानीय नेता कार्यालयहरुलाई आग्रह गरे ।